शुक्रबार, २९ फाल्गुन, २०८२

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले चलचित्र विधेयक पेस गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २९ माघ, २०८२

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले चलचित्र विधेयक पेस गर्ने

२०८२ माघ २८, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन् ।

सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्नेछिन् ।

यसैगरी, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने कार्यसूची छ ।

त्यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन व्यवस्थापन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

advertisement_1676998982.gif