राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ८ पुष, २०८२
२०८२ पुष ०८, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफलका लागि बोलाएका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलमा आमन्त्रण गरेका हुन् ।
राष्ट्रपति कार्यालयले सुरुमा देउवा र ओलीलाई मात्रै बोलाइएको जानकारी दिएको भए पनि पछि तीनै नेता सहभागी हुने तय भएको जनाएको छ ।
छलफल मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुनेछ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तथा सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनका विषयमा भेटका क्रममा छलफल हुने बताइएको छ ।