राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ७ माघ, २०८२
२०८२ माघ ६, काठमाडौँ । प्राइम टेलिभिजनका अध्यक्ष तथा आम जनता पार्टीका नेता ऋषि धमलाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट टिकट पाएका धमलाले उम्मेदवारी दिएका हुन् ।
निर्वाचन कार्यालयमा पुगेर फागुन २१ को निर्वाचनका लागि प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।
ऋषि धमलाको यो निर्णय केवल व्यक्तिगत करिअर परिवर्तन मात्र नभई जनताप्रतिको जिम्मेवारीबाट प्रेरित भएको बताइएको छ । वर्षौँसम्म क्यामेराअगाडि बसेर सत्ता, शक्ति र व्यवस्थामाथि प्रश्न उठाउँदै आएका धमलाले अब प्रत्यक्ष रूपमा जनताको सेवामा होमिने अठोट गरेका छन् ।
यस महत्वपूर्ण यात्रामा उनकी जीवनसाथी एलिजा गौतमले भावुक तर दृढ समर्थन जनाएकी छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा गर्व र जिम्मेवारीको मिश्रित अनुभूति व्यक्त गर्दै, पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्नु सहज नभए पनि ऋषि धमलाको अनुभव, प्रखर बुद्धि र सत्यप्रतिको अडानले उनलाई सफल बनाउनेमा आफू पूर्ण विश्वस्त रहेको उल्लेख गरेकी छन् ।
उनका अनुसार यो निर्णयअघि परिवारभित्र गहन छलफल, धेरै अनिँदा रात र गम्भीर सोचविचार भएको थियो । तर अन्ततः यो यात्रा पदका लागि नभई जनताको सेवाका लागि भएकाले आफू अटुट विश्वास र संकल्पका साथ ऋषि धमलाको साथमा उभिएको उनले स्पष्ट पारेकी छन् ।
आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिन लागेका धमलाले रौतहट–४ का जनताबीच नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । पत्रकारितामा रहँदा उठाएका सवालहरूलाई अब संसदमार्फत व्यवहारमा उतार्ने उनको भनाइ छ ।
राजनीतिमा नयाँ भए पनि सार्वजनिक जीवनमा लामो अनुभव बोकेका ऋषि धमलाको उम्मेदवारीले रौतहट–४ को चुनावी माहोललाई थप रोचक बनाएको छ । स्थानीयस्तरमा उनको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ ।