राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २१ पुष, २०८२
२०८२ पुष २१, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरेकी हुन् ।
पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलसँग बालुवाटारमा सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले मुलुकको अवस्था निकै संवेदनशील छ । प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीबोधका भूमिका खेल्नुपर्नेछ। समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ। यसका लागि तपाईँहरुले पनि भूमिका खेलिदिनुहोस् ।’
निर्वाचनका लागि सबै राजनीतिक दलहरु तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने धारणा पनि उनले राखिन्।
‘निर्वाचन त हुन्छ नै। अब यो निर्वाचनले मुलुकलाई निकास पनि दिनुपर्छ। नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गएमा मुलुकले पक्कै लय समाउनेछ,’ उनले भनिन् ।
मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा पूर्वसांसदहरु रामेश्वर राय, विश्वेश्वरा दाहाल, रमा गुरागाईँ, गोविन्दबहादुर शाह, हिक्मतबहादुर शाही, शंकरनाथ शर्मा, शिवराज जोशी, नरबहादुर हमाल, अक्कलबहादुर विष्ट, विष्णुबहादुर राउतलगायत सहभागी थिए ।
मञ्चका तर्फबाट अध्यक्ष श्रेष्ठले मुलुकका सामु निर्वाचन नै निकासको एक मात्र लोकतान्त्रिक विकल्प रहेकाले यसमा सरकार सफल हुनुपर्ने धारणा राखे ।
उनले भने, ‘यो अफ्ठ्यारो अवस्थामा मुलुकलाई सम्हाल्न आइदिनुभएकामा धन्यवाद छ । हामी आभारी छौँ। यहाँकै नेतृत्वमा निर्वाचन हुनुपर्छ र त्यो वातावरण बन्दै पनि गइरहेको छ। निर्वाचन सफल पार्न हामी सरकारको साथमा छौँ । निर्वाचनमार्फत जननिर्वाचित संसद आए मात्र मुलुकमा लोकतन्त्र जीवित रहन्छ । मुलुकले निकास पाउँछ ।’
पूर्वसांसद मञ्चका लागि आवश्यक कार्यालय र स्रोत व्यवस्थाका लागि पनि प्रतिनिधिमण्डलले सरकारलाई आग्रह गरेको छ ।