राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १२ माघ, २०८२
२०८२ माघ ११, काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेकी लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला तर्फ भण्डारीले ३,९८४ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १,६७६ मत प्राप्त गरिन् ।
अर्कोतर्फ, पुरुष तर्फ नेपाली कांग्रेसका खम्मबहादुर खातीले ३,९६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १,८०५ मत प्राप्त गरे। प्रदेशसभा सदस्य ५३ मतभार र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको १९–१९ मतभार रहेको हुँदा कुल २ सय २० मत खसेको छ । जम्मा मतदाता संख्या २ सय २४ रहेकोमा ४ मत खस्न सकेनन् ।
मतदान नगर्नेमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा विष्ट, धनपाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिका उपाध्यक्ष रेखा कठरिया रहेका छन् ।
महिला र पुरुषतर्फ दुई–दुई सदस्यका लागि भएको निर्वाचनमा चार उम्मेदवार प्रतिस्पर्धामा थिए ।