शनिबार, ३० फाल्गुन, २०८२

सभामुख र उपसभामुखको कार्यकाल सकियो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १३ पुष, २०८२

सभामुख र उपसभामुखको कार्यकाल सकियो

२०८२ पुष १३, काठमाडौँ । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको कार्यकाल सकिएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन पत्र दाखिला गर्न तोकेको दिन आएसँगै सभामुख र उपसभामुखको कार्यकाल सकिएको हो ।

संविधानमा सभामुख र उपसभामुखको कार्यकालबारे स्पष्ट व्याख्या गरिएको छ । संविधानको धारा ९१ को उपधारा ६ अनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा त्यसपछि हुने निर्वाचनको लागि मनोनयन दर्ता हुने अघिल्लो दिनसम्म उनीहरुको कार्यकाल रहने प्रावधान छ । यो व्यवस्थाअनुसार उनीहरुको कार्यकाल आज सकिइसकेको छ ।

नेपालको संविधान अनुसार प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि सभामुख र उपसभामुखको पद स्वतः समाप्त हुने व्यवस्था छ । सोही संवैधानिक प्रावधानअनुसार उनीहरूको पदावधि अन्त्य भएको संसद् सचिवालयले जनाएको छ ।

पदावधि सकिएसँगै सभामुख देवराज घिमिरेले प्रयोग गर्दै आएको सरकारी निवास छोड्ने तयारीसमेत थालेका छन् । स्रोतका अनुसार आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी छिट्टै सरकारी निवास खाली गरिनेछ ।

उपसभामुख इन्दिरा रानाको हकमा पनि सुरक्षा, सवारी सुविधा तथा अन्य सरकारी सेवासुविधा क्रमशः फिर्ता लिने प्रक्रिया सुरु गरिएको छ ।

सभामुख घिमिरेले आफ्नो कार्यकालमा संसद् सञ्चालनलाई प्रभावकारी बनाउने प्रयास गरेको भन्दै संसद् सचिवालयका कर्मचारीहरूले धन्यवाद व्यक्त गरेका छन् । उनका कार्यकालमा विधेयक छलफल, संसदीय अभ्यास सुदृढीकरण तथा संसदीय मर्यादा कायम राख्न जोड दिइएको थियो ।

अब प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ संसद् गठन भएपछि नयाँ सभामुख र उपसभामुख चयन गरिनेछ ।

advertisement_1772818633.jpg