राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २४ फाल्गुन, २०८२
२०८२ फागुन २४, काठमाडौँ । सरकारले गत २३ र २४ भदौको जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सके पूरै दस्तावेज सार्वजनिक गर्ने र यदि त्यो सम्भव नभए प्रतिवेदनको निचेडमात्र भए पनि सार्वजनिक गर्ने बताएकी छिन् ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले सार्वजनिक गर्ने काम आफ्नै सरकारले गर्ने पनि बताइन् । आइतबार सिंहदबरस्थित प्रधानमन्त्री कार्यालयमा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बुझाएको प्रतिवेदन बुझ्दै प्रतिवेदन सार्वनिक गर्ने विषयमा आफूहरुले छलफल गर्ने बताइन् । ‘हामीले प्रतिवेदन सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गर्छौँ । यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौँ’, उनले भनिन् ।
प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष कार्कीले भने ‘कुशासनका कारण यो घटना भएको छ । नियमनकारी निकायहरूलाई विकृत पारिएको छ । न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ। न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ । यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ ।’