राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २४ फाल्गुन, २०८२
२०८२ फागुन २४, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष गौरीबहादुर कार्कीसहित समितिका सदस्यले आज सिंहदरबारमा पुगेर प्रधानमन्त्री सुशिला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले उक्त दस्ताबेजको अध्ययनपछि आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया अघि बढाइने बताएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रतिवेदनको अध्ययनपश्चात् सरकारका तर्फबाट थप निर्णय गरिने छ।
भदौ २३ र २४ गते भएका घटनाका क्रममा भएको भनिएको मानवीय तथा भौतिक क्षतिको यथार्थ अवस्था पत्ता लगाउने उद्देश्यले गठन गरिएको आयोगले तेस्रो पटक थपिएको समय सीमा सकिनु अघि नै प्रतिवेदन पेश गरेको हो।
असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्यका रूपमा रहेका छन् ।