राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ बैशाख ३१, काठमाडौं । पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुन बालेन्द्र शाह नेतृत्वको सरकारसँग निकै खुशी बनेका छन् । सरकारले मन्त्रालयहरुको पुनर्संरचना गर्दा उनले चाहेको जस्तो नवप्रवर्तन मन्त्रालय जन्माइदिएपछि पुन हर्षित भएका हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै पुनले आफूले लामो समयदेखि गरेको माग पूरा भएको भन्दै आभार प्रकट गरेका छन् । उनले सरकारको दिर्घायुको कामना समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘मैले लामो समयदेखि गरेको माग पुरा भयो । दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो त देख्नु नै भयो होला । त्योभन्दा तीन हप्ता अगाडि मैले प्रधानमन्त्रीज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला । अब सो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षताका साथ कसरी चलाउने भन्ने आइडिया भएका जान्ने सुन्ने देशभक्त बैज्ञानिकहरु र अनुसन्धानकर्ताहरु छलफल गर्न आउनुहोस् भन्ने अनुरोध गर्दछु । नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दिर्घायुको कामना गर्दछु ।’
आफूले रिसको झोंकमा नेताहरुलाई दिएको श्राप पनि फिर्ता लिएको घोषणा पुनले गरेका छन् ।
पुनले दिएको ‘श्राप’ यस्तो थियोः
‘लौ जा, मेरो यो श्राप लागोस् ! नेपाली नेताहरूको दिमागमा विज्ञानप्रविधि, अनुसन्धान र नवप्रवर्तन भन्ने कुराले कहिल्यै वास नगरोस् र सरकारको नीति तथा कार्यक्रममा ती शब्दहरू प्रयोग नहोस् । मेरो श्राप लागेर उनीहरूलाई जनताले चिनुन् र भावी चुनावहरूमा त्यस्ता नेताहरूलाई भोट नदिउन् । कालान्तरमा विज्ञानप्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई हेला गर्ने नेताहरूलाई हरिकंगाल बनाएर यमराजले नर्कमा हालुन् । सोझासाझा र निमुखा नेपालीहरूलाई भगवानले रक्षा गरुन् ।’