राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २५ माघ, २०८२
२०८२ माघ २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् । लिङ्देनले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रसाईंलाई बिना शर्त अबिलम्ब रिहा गर्न सरकारसँग माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ,‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होईन नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोधसमेत गर्न पाउने संविधानप्रदत्त अधिकारको कुण्ठित समेत गरेको छ ।प्रसाईंलाई बिनाशर्त अविलम्ब रिहा गर्न राप्रपा सरकारसँग माग गर्दछ।’
प्रसाईंलाई शुक्रबार प्रहरीले काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार प्रसाइविरुद्ध साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरिएको हो । उजुरी निर्वाचन आयोगले दिएको थियो । आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२को ४ (ख) बर्खिलाप हुने गरी कसुर गरेको र विद्युतीय कारोबार ऐन २०७४ को दफा ४७ बमोजिमको कसुर गरेको भन्दै प्रहरीलाई पत्राचार गरेको थियो ।
प्रसाईं पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् ।
