राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १९ पुष, २०८२
२०८२ पुष १९, कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले देशको राजनीतिलाई सङ्लो पार्न र देशको समृद्धिका लागि रास्वपाको उदय भएको बताएका छन् ।
रास्वपाको गण्डकीस्तरीय सदस्य भेटघाट कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै डा वाग्लेले आगामी फागुनमा हुने आफ्नो पार्टीले बहुमत प्राप्त गरेमा उदाहरणीय राजनीतिक संस्कार बसास्ने प्रतिवद्धता व्यक्त गरे ।
‘ताजा जनादेशका लागि चुनावमा आएका छौँ । सुशासनको जगमा टेकेर देशलाई समृद्ध बनाउँदै संस्थागत र नीतिगत सुधारमा जान बहुमत खोजेका हौँ‘, उनले भने, ‘विशेष रणनीतिका साथ देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानेछौँ ।‘
वाग्लेले ऊर्जा, कृषि, पर्यटनको विकासमार्फत देशमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा राखे । नीतिगत भ्रष्टाचार, सुशासन नहुनुलगायत कारणले युवामा असन्तुष्टि पैदा भएको उनको भनाइ छ ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले निर्वाचनसँगै फागुन २१ पछि आफ्नो पार्टी काममा व्यस्त हुने बताए । पार्टीका प्रवक्ता मनिष झाले नेपाली जनताको हितमा पार्टी सदैव सक्रियताका साथ लाग्ने बताए ।