राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २९ माघ, २०८२
२०८२ माघ २८, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गरेका छन् ।
बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले विपक्षी राजनीतिक दलहरूले समेत निर्वाचनको माहौला आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको जिकिर समेत गरे ।संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
उनले नयाँ भनिएका राजनीतिक दलहरूले नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिएपनि पुराना ठाउँहरूमा त्यो नदिएको समेत बताए । संयोजक दाहालले आफ्नो पार्टी, कांग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिस्पर्धा हुने पनि बताए । उनले आगामी १०, १५ दिनभित्र नेपाली कम्युनिष्ट पार्टीले अन्य पार्टीहरूलाई पछाडि पारेर निर्वाचनको माहोल बनाउने विश्वास समेत व्यक्त गरे । संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टी नयाँ र सबैभन्दा भिजन भएको पार्टी भएको भन्दै त्यसमा हजारौ युवा पुस्ताहरूले साथ दिएको समेत बताए ।