शुक्रबार, २९ फाल्गुन, २०८२

विशेष अदालतद्वारा डा. संगीता मिश्रासँग पाँच लाख धरौटी माग

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ८ माघ, २०८२

विशेष अदालतद्वारा डा. संगीता मिश्रासँग पाँच लाख धरौटी माग

२०८२ माघ ७, काठमाडौं । स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा. संगीता मिश्रासँग विशेष अदालतले पाँच लाख धरौटी माग गरेको छ ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पछि ठहरेबमोजिम हुने गरी पूर्पक्षका लागि धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

मिश्रासहितका उनीहरूविरुद्ध थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप छ । स्वास्थ्य सेवा विभागको तत्कालीन महानिर्देशक  मिश्रा, निर्देशक डा. श्रवण कुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा. विवेक कुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, कानुन अधिकृत सीता घिमिरे, बायोमेडिकल इञ्जिनियर आशीष चौहान, पद्मा मिश्र तथा जनस्वास्थ्य निरीक्षक सञ्जय कुमार साह र लेखापाल तिलकराम ढकालविरुद्ध मुद्दा दायर भएको थियो ।

अख्तियारले १४ करोड ६ लाख ८५ हजार पाँच सय रुपैयाँ बिगो दाबी गरेको थियो । यसैगरी ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा लिका र त्यसका सञ्चालक सुन्दर भुसालविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

मिश्रामाथि १४ करोड ४३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । प्रतिथान २ करोड ५१ लाख रुपैयाँका दरले ५ वटा मेसिनका लागि १२ करोड ५५ लाखको प्रस्ताव थियो । तर भ्याटसमेत जोडेर १४ करोड १८ लाखको लागत तयार पारिएको ठहरसहित मुद्दा चलाइएको थियो ।

advertisement_1676551694.gif