राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २५ पुष, २०८२
२०८२ पुष २५, काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पुस २७ गते आइतबार सुरु हुने दोस्रो विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुन आउनुपर्ने बताएका छन् ।
उनले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पार्टीलाई मिलाएर लैजान सभापति पनि महाधिवेशनमा सहभागी हुनुपर्ने बताएका हुन् ।
भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएकाले सबै नेताहरू त्यसमा सहभागी हुने विश्वास समेत व्यक्त गरेका छन् ।
‘७७ वटै जिल्लाका साथी हामीसित छन्, ७७ वटै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू हाम्रा हुन्, ’उनले भन । भण्डारीले अगाडि भने, ‘नेताहरूलाई पनि मिलाएर लैजानुपर्छ । सभापति पनि आउनुपर्छ ।’
दोस्रो विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनमा भाग लिन पार्टी सभापति शेरबहादुर देउवालाई निम्तो गर्ने तयारी गरिरहेको छ । विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यका अनुसार पार्टी सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिनेछ ।
यसका लागि शनिबारसम्म चिठी पठाउने तयारी भइरहेको आचार्यले बताए ।