राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ८ फाल्गुन, २०८२
२०८२ फागुन ०८, बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष एव रुपन्देही–२ का उमेदवार विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि २० बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । क्षेत्र नं. २ लाई शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता सहित घोषणापत्र सार्वजनिक गरेका छन् ।
उम्मेदवार विष्णुप्रसाद पौडेलको नेतृत्वमा सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रुपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। घोषणापत्रमा भौतिक तथा मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाइने उल्लेख छ ।
उनले झुम्सा खानेपानी, सुकुम्बासी व्यवस्थापन र लालपुर्जा वितरण लगायतका कुरालाई समेटेका छन् । उनले आफ्नो क्षेत्रभन्दा बाहिरको ग्रेटर लुम्बिनी तथा रुपन्देही–३ मा पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो चरणमा लैजाने विषय समावेश गरेका छन् ।
उनले विगतमा रुपन्देही जिल्ला विशेषगरी क्षेत्र नं. २ मा भौतिक तथा मानवीय विकासलाई तीव्रता दिएको दाबी गर्दै आगामी कार्यकालमा संविधानको रक्षा, सुशासन र जनमुखी कानुन निर्माणलाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।
शिक्षा र स्वास्थ क्षेत्र प्राथमिकतामा घोषणापत्रअनुसार क्षेत्रलाई गुणस्तरीय शिक्षा केन्द्र बनाइनेछ, जसका लागि भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति व्यवस्थापन गरिनेछ । लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी अन्तर्राष्ट्रियस्तरको शिक्षण संस्था बनाउने, त्रिभुवन विश्वविद्यालयअन्तर्गत बुटवल बहुमुखी क्याम्पसलाई प्रदेशकै नेतृत्वदायी क्याम्पस बनाउने तथा कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने योजना अघि सारिएको छ ।
त्यस्तै, बुटवल, तिलोत्तमा र सैनामैना क्षेत्रमा रहेका विद्यालय तथा क्याम्पसहरूको भवन, छात्रावास, प्रयोगशाला र प्रविधिमैत्री शिक्षण प्रणालीका लागि स्रोत व्यवस्थापन गरिने उल्लेख छ । बजारको मागअनुसार अनुसन्धानमुखी शिक्षा र स्नातक–स्नातकोत्तर तहका विद्यार्थीलाई इन्टर्नसिपसँग जोड्ने योजना पनि घोषणापत्रमा समेटिएको छ ।
स्वास्थ्यतर्फ निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताललाई आवश्यक उपकरण र जनशक्तिसहित सञ्चालनमा ल्याइने, १५ शैयाका आधारभूत अस्पतालहरूलाई सुदृढ बनाइने तथा ट्रमा सेन्टर निर्माण अघि बढाइने उल्लेख गरिएको छ । आयुर्वेदिक र प्राकृतिक चिकित्सालाई समेत सुदृढ गर्दै वैकल्पिक उपचार सेवाको दायरा बढाइने योजना छ ।
स्थानीय स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रहरूको क्षमता विस्तार गरी बाल, प्रसूति, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको नियमित उपचार व्यवस्था मिलाइने तथा स्वास्थ्य बिमामार्फत सर्वसुलभ सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ ।
घोषणापत्रमा सूचना प्रविधि क्षेत्रमा दक्ष युवालाई लक्षित गर्दै सफ्टवेयर विकास, डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता क्षेत्रमा रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याइने उल्लेख छ ।
निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी आकर्षित गर्ने, प्राविधिक शिक्षालय स्तरोन्नति गर्ने र उद्यमशीलता प्रवद्र्धन गर्ने योजना पनि समावेश गरिएको छ । पौडेलले समग्र घोषणापत्र विकास, समृद्धि, सामाजिक न्याय र समाजवाद उन्मुख लक्ष्य हासिल गर्ने आधार भएको दाबी गर्दै मतदातासँग समर्थन मागेका छन् ।