राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८२ कार्तिक १६, बाजुरा । बाजुरामा बस दुर्घटनामा परि घाइते भएका बस सहचालक बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ बस्ने २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ । जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायव उपरीक्षक गगनसिंह भाटले जानकारी दिएका छन् ।
घाइते जोशीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको भएपनि अस्पतालमा उपचारका क्रममा शनिवार राति १० बजे मृत्यु भएको उनले बताए ।
मार्तडी कोल्टी सडकमा पर्ने बुढी नन्दा नगरपालिका–७ सेरकाटियाका बस दुर्घटनामा परेको थियो।बस दुर्घटनामा परी घाइते भएका आठ जनालाई भने थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
घाइते भएर अवस्था गम्भीर भएका आठ जनाको उपचारका लागि शनिवार राति नै एम्बुलेन्स र जिप मार्फत धनगढी पठाइएको छ । उनीहरूको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले जिल्लामा सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।
उनका अनुसार स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही,बुढी नन्दा नगरपालिका–६ छातीकोटका १९ वर्षीय उमेश भाट, सोही नगरपालिका–५ बस्ने २४ वर्षीया जमुना मल्ल, सोही नगरपालिका–५ छातीकोट बस्ने७ वर्षीया लक्ष्मी मल्ललाई रिफर गरिएको अस्पतालका सूचना अधिकारी गिरीले बताए ।
यस्तै बुढीगंगा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह,उनकी छोरी २ वर्षीया छोरी जेनिशा सिंह,५ वर्षीया पल्ले सिंह, जेसिका सिंह र बुढी नन्दा नगरपालिका–७ सास्ता बस्ने ४५ वर्षीया इसरा देवी सुनारलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पतालका सूचना अधिकारी गिरीको भनाइ छ ।
कोल्टीबाट धनगढीका लागि शनिवार छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडी गएर दुर्घटना भएको बताइएको छ ।
बस दुर्घटनापछि चालक फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।