सोमबार, १२ आश्विन, २०८३

म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ बेपत्ता: ७८ जनाको उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, ५८ मिनेट पहिले

म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ बेपत्ता: ७८ जनाको उद्धार

२०८३ असोज १२ काठमाडौँ I निरन्तरको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्थानीय नागरिक र प्रहरीको संयुक्त टोलीले पहिरोमा पुरिएका ६ जनाको शव फेला पारेको हो ।

पहिरोमा परी मृत्यु हुनेहरूमा अन्नपूर्ण गाउँपालिका-८ की १९ वर्षीया सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका-३ फगामकी ५४ वर्षीया योमाया पाईजा, मालिका गाउँपालिका-३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन र २८ वर्षीय देवबहादुर पुन रहेका छन् ।

त्यस्तै अन्नपूर्ण गाउँपालिका-६ गिवाङकी ५ वर्षीया बालिका जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका-३ फगामकी ७५ वर्षीया शिलकुमारी गर्बुजाको पनि पहिरोमा परेर मृत्यु भएको छ ।

घटनामा परी अन्नपूर्ण गाउँपालिका-६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडाका २१ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका-३ भकिम्ली छेपारेकी कुमारी विक (उमेर नखुलेको) बेपत्ता भएका छन् ।

पहिरो प्रभावित क्षेत्रहरूबाट नेपाली सेनाको हेलिकप्टरमार्फत ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हाल प्रभावित स्थानहरूमा थप प्रहरी परिचालन गरी उद्धार कार्य र राहत वितरण जारी राखिएको छ ।

यसैबीच, पहिरोका कारण बेनी-जोमसोम र बेनी-दरबाङ सडक खण्डका विभिन्न स्थानमा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

advertisement_1676551694.gif