राष्ट्रिय सन्देश संबाददाता, ५६ मिनेट पहिले
२०८३ असोज २४ काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध भएको यातायात आज रातिदेखि आंशिक रूपमा सञ्चालनमा आउने भएको छ ।
सडक विभागका अनुसार सडकको भित्तापट्टिको भाग कटान गरी सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ । आज राति ९ः०० बजेदेखि एकतर्फी सवारी आवागमन सञ्चालन गर्ने तयारी गरिएको विभागले जनाएको छ ।
भोलि बिहान ७ बजेदेखि दुईतर्फी सवारी सञ्चालनका लागि आवश्यक सडक विस्तारको काम सुरु गरिनेछ । मौसम तथा अन्य परिस्थिति सामान्य रहेमा भोलि साँझ ६ बजेसम्म सडक विस्तारको काम सम्पन्न गरी दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ ।
सडक विभागले उपलब्ध जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी सडक यथाशीघ्र सुरक्षित रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।
सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र ट्राफिक व्यवस्थापनसम्बन्धी निर्देशन पालना गर्न विभागले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ ।