राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज २७ बाँके । नेपालगञ्जस्थित जमुनाह नाकामा कडाइ गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दशैंको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ ।
दशैं र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा पाइला टेक्ने ठाउँ हुँदैनथ्यो । दसैँको नयाँ लुगा, घरका लागि चाहिने उपभोग्य सामग्री किनमेल गर्न जमुनाह नाका हुँदै दैनिक ठूलो सङ्ख्यामा नेपाली उपभोक्ता सीमापारि जाने गर्दथे । यसपटक भने रूपैडिहा बजारको त्यो पुरानो रौनकता र चहलपहल हराएको छ ।
सीमावर्ती भारतीय बजारमा नेपालीको भीड घट्नुका पछाडि मुख्य गरी सीमा नाकामा गरिएको कडाइ र भन्सारसम्बन्धी नयाँ नियम नै प्रमुख कारण रहेको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।
गत वैशाखदेखि नेपालगञ्ज भन्सार नाकाबाट रु १०० भन्दा बढी मूल्यका सामान बिनाभन्सार नेपाल ल्याउन रोक लगाइएको थियो । उक्त सीमा बढाएर हाल रु ५०० पुर्याइएको छ ।
अघिल्ला वर्षमा चाडपर्वका बेला नेपाली ग्राहकले भरिभराउ हुने रूपैडिहाका पसल यसपटक सुनसान देखिएका छन् । दुवैतर्फ जाँच र लामो लाइन बस्नुपर्ने भएकाले सीमा पारी जाने उपभोक्ता घटेको नेपालगञ्ज-२१ पुरैनाकी सिर्जना थापाले बताइन् ।
रु ५०० भन्दा बढीको सामान भन्सार जाँच गर्नुपर्ने व्यवस्थाले उपभोक्ता रुपैडिहा जान छाडेका छन् । नेपाली उपभोक्ताको आवागमन कम भएपछि रूपैडिहा बजार सुनसान बन्दै गएको उनले जनाइन् ।
सीमापारी रुपैडिहा बजार जाने उपभोक्ताको सङ्ख्या घटेसँगै नेपालगञ्जका ‘सपिङ मल’मा भीडभाड बढेको छ । नेपालगञ्जको भाटभटेनी, वेष्टर्न मार्टलगायत सुपर स्टोरमा नेपाली उपभोक्ताको आकर्षण बढेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए ।
उनले भन्सार कडाइले सीमापारी जान रोकिएका उपभोक्तालाई नेपालगञ्जमै किनमेलको वातावरण बनाउन यहाँका व्यापारी, उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने बताए । चाडपर्वका बेला नेपाली बजारमा व्यापारीले मूल्यवृद्धि र वस्तुको अभाव गराउने कार्यलाई निरुत्साहित गरेर बजार अनुगमनलाई ध्यान दिनुपर्ने सुझाव उनले दिए ।
सीमापारी भारतीय बजार रुपैडिहामा किनमेलका लागि जाने उपभोक्ता घटे पनि स्थानीय बजारमा खरिद बिक्री सोही अनुपातमा नबढेको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिए ।
उनका अनुसार, तस्करी विगतको तुलनामा घटेको अनुमान छ । मुख्य नाकामा कडाइ भए पनि खुला सीमाका कारण भित्री नाकाबाट हुनसक्ने तस्करी रोक्न ती क्षेत्रमा निगरानी बढाउनुपर्ने देखिन्छ ।