राष्ट्रिय सन्देश संबाददाता, १३ घण्टा पहिले
२०८२ साउन १९, सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाव मापन गरिएको थियो ।
सोमबार बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ ढोका खुल्ला गरिएको उनले जानकारी दिए । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ ।
सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।
सप्तकोशीमा प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक पानीको बहाव नाघेपछि रातो बत्ती बाल्ने गरिएको छ । सप्तकोशीमा पानी बढेपछि कोशी आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।