राष्ट्रिय सन्देश संबाददाता, ४८ मिनेट पहिले
२०८३ कार्तिक ०८ धनुषा । धनुषामा श्रीमान्–श्रीमती नै मृत अवस्थामा फेला परेका छन् । मिथिला बिहारी नगरपालिका–३, मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको हत्या भएको आशंका गरिएको छ भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव पनि मृत फेला परेका छन् ।
प्रहरीका अनुसार रिनादेवीको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
रिनाका श्रीमान् उमेश घरभन्दा करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनको घर मिथिला बिहारी नगरपालिका–४, भरतपुरमा रहेको छ । उनी केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए ।
मृतक दम्पतीका चार वर्षीय छोरा छन् । बालकको एउटा तिघ्रामा समेत धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताएका छन् । उनका अनुसार प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
घटनाको वास्तविक कारण र मृत्युको परिस्थितिबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।