राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २९ आश्विन, २०८०
बिराटनगर। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । एमाले तथा कांग्रेसका केहि प्रदेस सदस्यहरुको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसका विद्रोही सांसदमध्ये शम्शेर राई र एमालेबाट दलका उपनेता रामबहादुर मगर मन्त्री नियुक्त भएका हुन् ।
कांग्रेसबाट विद्रोह गरेका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त भएका हुन् ।