राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २२ मंसिर, २०८२
२०८२ मंसिर २१, काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आइतबार शपथ ग्रहण गराएका हुन् ।
कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
समारोहमा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमुख्यमन्त्री लालबाबु राउत, सरोज कुमार यादव, जितेन्द्र सोनलसहित सहभागी थिए ।
यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन् । यादवले मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।