बिहीबार, २८ फाल्गुन, २०८२

मधेशमा भागवण्डा नमिल्दा सरकार गठन भएको एक महिनासम्म पनि भएन मन्त्रिमण्डल विस्तार

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १५ पुष, २०८२

मधेशमा भागवण्डा नमिल्दा सरकार गठन भएको एक महिनासम्म पनि भएन मन्त्रिमण्डल विस्तार

२०८२ पुष १५, जनकपुरधाम।मधेश प्रदेशमा नयाँ सरकार गठन भएको झन्डै एक महिना पुग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन। सरकार गठनसँगै चुस्त नया ढंगले प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि अहिले सम्मको अवस्थालाई हेर्दा उही पुरानै अवस्थामा रहेको छ ।

छ दलको समर्थनमा मङ्सिर १९ गते प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्ण यादव नियुक्त भएका थिए। उनले पुस ४ गते प्रदेशसभाबाट सबै दलहरुबाट विश्वासको मत प्राप्त गरिसकेका छन्।विश्वासको मत पाएको पनि झन्डै दुइ हप्दा पुग्न लाग्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसक्दा सरकारको कार्यक्षमता र स्थायित्वमा प्रश्न चिन्ह लागेको छ ।

प्रदेश सरकारअन्तर्गत ११ वटा मन्त्रालय रहेकामा हालसम्म पाँच जनामात्र मन्त्री नियुक्त भएका छन् । बाँकी छ मन्त्रालय मन्त्रीविहीन रहँदा प्रशासनिक निर्णय, नीति कार्यान्वयन तथा सेवा प्रवाहमा प्रत्यक्ष असर पर्न थालेको बताइएको छ।जसपा नेपाल, जनमत पार्टी, नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी पार्टीको समर्थनमा बनेको वर्तमान सरकारले भागवण्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाई भएको जानकारहरु बताउछन ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले शिक्षा तथा संस्कृति मन्त्रालय, जनमत पार्टीले अर्थ मन्त्रालय, नेपाली कांग्रेसले स्वास्थ्य मन्त्रालय, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय पाइसकेका छन्। यसैगरी, जनता समाजवादी पार्टी (जसपा० नेपालले सभामुख पद प्राप्त गरेको छ ।

advertisement_1680627680.gif