मंगलवार, २८ आश्विन, २०८२

पक्राउ पुर्जी जारी भएपछि जसपा मधेश प्रदेशका अध्यक्ष यादव फरार

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २१ असार, २०८२

पक्राउ पुर्जी जारी भएपछि जसपा मधेश प्रदेशका अध्यक्ष यादव फरार

२१ असार २०८२, सर्लाही । सर्लाही जिल्ला अदालतले आफूलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग गालीगलौजमा उत्रेका यादवलाई जिल्ला अदालतले शुक्रबार आपराधिक उपद्रो कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति प्रदान गरेलगत्तै प्रहरीले कविलासी नगरपालिका–१०, सलेमपुरका यादवको खोजी गरिरहेको छ ।

सर्लाही प्रहरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले शनिबार बिहानसम्म यादव पक्राउ नपरेका बताए । यादवको खोजीमा प्रहरी तैनाथ भइरहेको डिएसपी राईको भनाइ छ ।

पूर्व मधेश प्रदेशसभा सदस्य समेत रहेका यादवलाई पक्राउ गर्न भन्दै प्रहरीले सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयमा जिल्लाका विभिन्न युनिटबाट थप मद्दतमा ठुलो सङ्ख्यामा प्रहरी जम्मा पारेको छ ।

जिल्ला प्रहरी प्रमुखसँग गालीगलौचमा उत्रिएपछि बिहीबार मध्यराति नै यादवलाई पक्राउ गर्न जाँदा उहाँका समर्थकले प्रहरीको गाडी तोडफोड र अवरोध गरेकाले पनि यादवलाई पक्राउ गर्नुपूर्व नै उच्च सुरक्षा सावधानी अपनाइएको हो ।

जसपा प्रदेश अध्यक्ष यादव र सर्लाही प्रहरी प्रमुख खड्काबिच टेलिफोनमा भएको बाझाबाझ अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल छ । यादव र एसपी खड्काबिच बिहीबार राति टेलिफोनमा गालीगलौज भएको थियो ।

advertisement_1676551646.gif