राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ७ असार, २०८३
२०८३ असार ०७, रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले बागमती नदीमा अचानक आएको बाढीका कारण फसेका १४ जना स्थानीयको सकुशल उद्धार गरेको छ ।
आइतबार दिउँसो करिब पौने ४ बजे दुर्गाभगवती गाउँपालिका–३ मत्सरीघाटस्थित बागमती नदी पारि मुंगको दाल टिपेर फर्कने क्रममा ११ जना महिला र ३ जना बालिका नदीको बिच भागमा रहेको टापुमा फसेका थिए ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा मातहतका कार्यालयबाट सशस्त्र प्रहरी सहायक निरीक्षक यज्ञबहादुर योञ्जनको कमाण्डमा डिजास्टर म्यानेजमेन्ट टोलीसहित १७ सदस्यीय उद्धार टोली रबर बोटसहित घटनास्थलतर्फ परिचालन गरिएको थियो ।
उद्धार टोलीले साँझ ५ बजे रबर बोटमार्फत नदीको बीचमा फसेका सबै १४ जनालाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिए ।
उनका अनुसार नदीमा अचानक पानीको बहाव बढ्दा उनीहरू फसेका थिए । समयमै उद्धार टोली परिचालन गरिएकाले सबैलाई सुरक्षित रुपमा घर फर्काउन सफल भएको अधिकारीलेले बताउए ।
उद्धार कार्यमा इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीसमेत खटिएको थियो ।