बिहीबार, २८ फाल्गुन, २०८२

वीरगञ्जमा कर्फ्यु आदेश जारी

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ११ फाल्गुन, २०८२

वीरगञ्जमा कर्फ्यु आदेश जारी

२०८२ फागुन ११, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र तपसिलका चार किल्ला तोकी निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनले कर्फ्यु लागू हुने क्षेत्रको चार किल्ला पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल-भारत सीमा नजिकैको शङ्कराचार्य गेटभित्रको क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

सञ्चारकर्मी, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षामा सामेल हुने परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीहरूलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कर्फ्यु आदेश जारी भए पनि मानवीय संवेदनशीलता र अत्यावश्यक सेवालाई भने प्रशासनले खुकुलो बनाएको छ । एम्बुलेन्स, दमकल, शव वाहन र स्वास्थ्यकर्मीका सवारी साधनहरूलाई निर्वाध रूपमा चल्न दिइने प्रशासनले जनाएको छ ।

advertisement_1680627680.gif