बुधबार, २६ कार्तिक, २०८३

बिचौलियाको बयानका भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

बिचौलियाको बयानका भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा

२०८३ कार्तिक २४ काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट आरोप र अफवाहका आधारमा कसैको पनि धारणा बनाउन नहुने स्पष्ट पारेका हुन् ।

पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीप्रति लक्षित गर्दै शर्माले बिचौलियाले भन्दैमा नेताहरूले करोडौँ रुपैयाँ लिएको निष्कर्ष निकाल्नु पूर्णतया गलत भएको बताए । उनले प्रश्न गर्दै भने, ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे । त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो रे भनेर फेसबुकमा लेखेर हुन्छ ?’

कार्यक्रममा शर्माले आफू र सभापति गगन थापालाई जोडेर लगाइएका करोडौँ रुपैयाँ बुझाएको भन्ने निराधार आरोपको समेत खण्डन गरे । गगन थापा जीवनमा थोरै समय मात्रै मन्त्री बनेको र आफू सांसद मात्रै भएको प्रसंग उल्लेख गर्दै उनले बिनाआधार लगाइने यस्ता आरोपको कुनै औचित्य नभएको बताए । बिचौलियाको भनाइलाई प्रमाणका रूपमा लिन नहुने तर्क गर्दै उनले बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कसैको नाम लिँदैमा त्यसलाई अदालतले प्रमाण नमान्ने दृष्टान्त दिए ।

कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया पार्टीको विधि, विधान, संविधान र कानुनअनुसार इमानदारितापूर्वक सम्पन्न भएको दाबी गर्दै शर्माले राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिअनुसार पार्टीलाई नयाँ ढङ्गले अघि बढाइने बताए । महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेस योजनाबद्ध रूपमा अघि बढिरहेको उल्लेख गर्दै उनले पार्टीलाई चुस्त र व्यवस्थित बनाउन नेता तथा कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको अन्त्यमा शर्माले काभ्रेको कांग्रेसलाई आफ्नो संगठनको जग बलियो बनाउन आग्रह गर्दै नेता तथा कार्यकर्ताहरूलाई अनावश्यक तनाव नलिई अध्ययन, मेहनत र उच्च आत्मविश्वासका साथ संगठन निर्माणको अभियानमा जुट्न निर्देश दिए ।

advertisement_1676551646.gif