आईतवार, २५ आश्विन, २०८३

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न रबि लामिछानेको आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न रबि लामिछानेको आग्रह

२०८३ असोज २५ काठमाडौँ । गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढीले जनधनमा क्षति पुर्‍याउनुका साथै महत्वपूर्ण पुलसमेत बगाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुःख व्यक्त गरेका छन् ।

लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

उनले चुमनुब्री क्षेत्रमा बाढीले व्यापक क्षति पुर्‍याएको र न्याक्चेत–फिलिम जोड्ने पुलसमेत बगाएको खबरले आफू मर्माहत भएको उल्लेख गरेका छन् ।

बाढीको जोखिम अझै कायम रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न उनले अपिल गरेका छन् ।

लामिछानेले विपद्का बेला प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग गर्न पार्टीका सदस्यहरूलाई पनि निर्देशन दिएका छन् । सरकार उद्धारमा सक्रिय रहेको उल्लेख गर्दै उनले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई आग्रह गरेका हुन् ।

आइतबार बिहान आएको बाढीले गोरखाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । बाढीका कारण चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत–सिर्दिबास जोड्ने झोलुङ्गे पुलसहित विभिन्न पुल तथा भौतिक संरचनामा क्षति पुगेको छ । नदी आसपासका बस्तीसमेत प्रभावित भएका छन् ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ । बाढीबाट भएको क्षतिको पूर्ण विवरण संकलन गर्ने तथा प्रभावित क्षेत्रमा उद्धार र राहतका काम अघि बढाउने प्रयास भइरहेको छ ।

advertisement_1676551537.gif