राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ जेष्ठ २०, काठमाडौं । पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका छन् ।
दुई देशबीच पछिल्लो समय विकसित राजनीतिक परिस्थिति र फेरिएको शक्ति सन्तुलनका बीच भएको यस भेटवार्तालाई दक्षिण एसियाली कूटनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ । यो भेटवार्ता दुवै पक्षका उच्चस्तरीय प्रतिनिधिमण्डलको उपस्थितिमा भएको हाे ।
भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल जहिले पनि प्राथमिक साझेदार मुलुकका रूपमा रहेको बताए ।
उनले नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउन काठमाडौंको नयाँ राजनीतिक नेतृत्व र सरकारसँग सहकार्य र साझेदारी बढाउन भारत उत्सुक रहेको बताए ।
यसअघि नयाँ दिल्ली बसाइका क्रममा सभापति लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीन, भारतका विदेश मन्त्री एस. जयशंकर र गृह मन्त्री अमित शाहसँग पनि बेग्लाबेग्लै उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
ती भेटहरूमा नेपाल-भारत विकास साझेदारी, क्रस-बर्डर कनेक्टिभिटी, सीमापार आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन र जनस्तरको सम्बन्ध सुदृढ गर्ने विषयमा सघन छलफल भएको थियो ।
भाजपा मुख्यालय पुग्दा लामिछाने र उनको टोलीलाई रेड कार्पेटसहित भव्य स्वागत गरिएको थियो । नेपालमा गत फागुनमा सम्पन्न निर्वाचन र राजनीतिक समीकरण परिवर्तनपछि भारत सरकारले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति लामिछाने दुवैलाई नयाँ दिल्ली भ्रमणको निमन्त्रणा पठाएको थियो ।
प्रधानमन्त्री शाहको भारत भ्रमण तत्काल तय हुन नसकेपछि नयाँ नेतृत्वसँग उच्चस्तरीय सम्पर्क स्थापित गर्ने भारतको नीतिअनुसार लामिछाने पहिलो भ्रमणकर्ता बनेका हुन् ।
यद्यपि, नेपाल सरकारका प्रवक्ताले यस भ्रमणलाई लामिछानेको दलगत र व्यक्तिगत राजनीतिक भ्रमणका रूपमा व्याख्या गर्दै यसलाई प्रधानमन्त्रीको औपचारिक भ्रमणको विकल्पका रूपमा बुझ्न नहुने स्पष्ट पारेका छन् ।
आफ्नी धर्मपत्नी निकिता पौडेल तथा रास्वपाका नेताहरू बिपिन आचार्य र दीपक बोहरासहित भारत पुगेका लामिछानेको टोलीले दिल्लीको औपचारिक राजनीतिक भेटघाट सम्पन्न गरिसकेको छ ।
भ्रमण तालिकाअनुसार उनले भारतमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने जेठ २२ गते यो टोली स्वदेश फर्कनेछ ।