बुधबार, १९ कार्तिक, २०८३

भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने भ्रमणका लागि काठमाडौंमा आइपुगे

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने भ्रमणका लागि काठमाडौंमा आइपुगे

२०८३ कार्तिक १८ काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मिश्रीलाई परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका हुन् ।

नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको औपचारिक निमन्त्रणामा नेपाल आएका भारतीय विदेश सचिव मिश्रीको यो भ्रमणलाई उच्च कूटनीतिक महत्त्वका साथ हेरिएको छ ।

विशेष गरी प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणको एजेण्डा र प्रारम्भिक तयारीको सिलसिलामा यो भ्रमण तय भएको हो ।

 भ्रमणका क्रममा परराष्ट्र सचिव राईले विदेश सचिव मिश्रीसँग द्विपक्षीय छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा  र आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् । यसले दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने छ । 

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता  गर्ने कार्यक्रम रहेको छ ।

विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी भोलि कात्तिक १९ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

advertisement_1676553851.gif