बुधबार, २४ असार, २०८३

जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हाजिर हुन सूचना

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हाजिर हुन सूचना

२०८३ असार २३, काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा सात दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले सोमबार काठमाडौंको बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर सार्वजनिक सूचना टाँस गर्दै जयवीर सिंह देउवालाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ललितपुरको पुल्चोकस्थित विभागको कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो ।

विभागद्वारा जारी सूचनाअनुसार जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा आवश्यक विवरण तथा केही विषयमा स्पष्टीकरण लिनुपर्ने भएकाले उनलाई उपस्थित हुन भनिएको हो। यो सूचना सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम जारी गरिएको विभागले जनाएको छ ।

सूचनामा तोकिएको सात दिनको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ ।

स्रोतका अनुसार जयवीर सिंह देउवाविरुद्ध नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का तथा राहदानी (पासपोर्ट) मुद्रणसम्बन्धी ठेक्कामा अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र बयानका लागि पत्र जारी गरिएको बताइएको छ ।

advertisement_1676551537.gif