शनिबार, २७ भाद्र, २०८३

कांग्रेस इतर समूहले ७७ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि

राष्ट्रिय सन्‍देश संबाददाता, ५३ मिनेट पहिले

कांग्रेस इतर समूहले ७७ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि

२०८३ भदौ २७ काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशन मंसिरमा गर्ने तयारी अघि बढाएको छ ।

केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर गतिविधि अघि बढाएको भन्दै देउवा समूहले आपत्ति जनाएको हो ।

शुक्रबार जारी विज्ञप्तिमार्फत कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले २०८३ मंसिर २१, २२ र २३ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको जनाएको छ । समितिले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिकासमेत सार्वजनिक गरेको छ ।

तयारी समिति संयोजक दीपकप्रसाद कुइँकेलले जारी गरेको विज्ञप्तिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको दाबी गरिएको छ ।

गत साउन २९, ३० र ३१ गते सम्पन्न राष्ट्रिय भेला/सम्मेलनको निर्देशनअनुसार भदौ १७ र १८ गते बसेको १५औँ महाधिवेशन तयारी समितिको बैठकले महाधिवेशनको मिति र प्रारम्भिक कार्यतालिका तय गरेको विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशनका विभिन्न तहका अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णयसमेत गरिएको छ। जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज ३ गतेभित्र गठन गरिसक्ने निर्णय भएको जनाइएको छ ।

यसका लागि विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत तोकिएको छ । काठमाडौंमा कल्याणी रिजाल, ललितपुरमा मदनबहादुर अमात्य, भक्तपुरमा भने प्रतिनिधि तोकिएको सूचीमा उल्लेख छैन । यस्तै, कास्कीमा शंकर भण्डारी र प्रा.डा. कृष्ण गौतम गरी दुई जना प्रतिनिधि तोकिएका छन् भने अन्य जिल्लामा पनि विभिन्न नेताहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको छ ।

कांग्रेसभित्र संस्थापनपक्ष र इतर समूहबीच महाधिवेशनको वैधानिकता तथा नेतृत्वको आधिकारिकतालाई लिएर विवाद चर्किरहेका बेला देउवा समूहले आफ्नै प्रक्रियाअनुसार महाधिवेशनको तयारी अघि बढाएको हो ।

कांग्रेसले असोज १६ देखि १९ सम्म १५ औँ महाधिवेशन गर्ने तालिका ल्याएर तयारी थालिसकेको छ ।

advertisement_1676551537.gif