राष्ट्रिय सन्देश संबाददाता, १८ घण्टा पहिले
२०८३ साउन १५, विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको घटनामा पीडित पक्ष र सरकारबिच गएराति ६ बुँदे सम्झौता भएको छ । साउन १० गते राति भएको घटनापछि उत्पन्न तनाव अन्त्य गर्दै गृहमन्त्री सुधन गुरुङ र मृतकका अभिभावकबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा गृहमन्त्री गुरुङका साथै मृतक ओमप्रकाश मेहताका अभिभावक कृष्णदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दुवै मृतकका परिवारलाई साउन १५ गते दिउँसो २:०० बजे अन्तिम संस्कार गर्न सहमति बनेको छ ।
६ बुँदे सम्झौतामा समेटिएका मुख्य विषयहरू:
सहिद घोषणा र राहत: मृतकद्वयलाई नेपाल सरकारका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने।
निष्पक्ष छानबिन र कारबाही: साउन १० गते राति भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया तत्काल अघि बढाउने।
मदरसाको कानूनी हैसियत छानबिन: देवानगञ्ज–३ स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरूका बारेमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने।
रोजगारको व्यवस्था: दुवै मृतकका परिवारका एक-एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने।
प्रतिवेदन कार्यान्वयन: घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिसहरू कानून बमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने।
स्मृति पार्क निर्माण: मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने।
सम्झौतासँगै लामो समयदेखि चुलिएको स्थानीय आक्रोश मत्थर हुने र आज अपराह्न दुवै मृतकको धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिने जनाइएको छ।