राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२७ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि असन्तुस्ट सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनले पाँच जना सांसदलाई कारबाही गरेका छन् । लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले पाँचजना सांसदलाई पदमुक्त गरेका हुन् । नागरिक उनमुक्ति पार्टीकी सांसद, उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, सप्तरी, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारमाथि कारबाही गरेका हुन् ।
संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने सम्बन्धी व्यवस्था रहेको छ । सोही धाराको उपधारा ‘घ’ मा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने व्यवस्था रहेको छ । उनीहरूलाई पदमुक्त गरिएको सूचना सभामुखले निकालेका छन् ।
‘संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको व्यहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ ।