राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ जेष्ठ २६, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै इतिहासकै बहुचर्चित र रहस्यमय मानिएको ‘नारायणहिटी राजदरबार हत्याकाण्ड’को पुनः छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गर्ने पहिलो निर्णय गरेका छन् ।
मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएर गृह मन्त्रालय पुगेका मन्त्री गुरुङले मुलुकको राजनीतिक इतिहासलाई दूरगामी असर पारेको उक्त घटनाको सत्यतथ्य जनसमक्ष ल्याउन भन्दै सो निर्णयमा हस्ताक्षर गरेका हुन् ।
मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले विगत लामो समयदेखि नेपाली जनताले दरबार हत्याकाण्डको निष्पक्ष र विस्तृत छानबिनको माग गरिरहेको उल्लेख गरे ।
उनले भने, ‘विगतका अनुसन्धान र प्रतिवेदनहरूले जनताको आशंकालाई पूर्ण रूपमा निवारण गर्न सकेका छैनन्, त्यसैले सरकारले सुशासन र पारदर्शिताको प्रत्याभूति दिलाउन यो ऐतिहासिक कदम चालेको हो ।’ उक्त उच्चस्तरीय छानबिन समितिमा पूर्वप्रधानन्यायाधीश, सुरक्षा निकायका पूर्वप्रमुखहरू र फरेन्सिक विज्ञहरू समावेश गरिने मन्त्रालय स्रोतले जनाएको छ । समितिलाई निश्चित समयावधिभित्र प्रतिवेदन बुझाउने गरी कार्यशर्त (टीओआर) तोकिने तयारी भइरहेको छ ।
विगतमा सम्पत्ति विवरणसम्बन्धी विवादका कारण राजीनामा दिनुभएका गुरुङ छानबिन समितिबाट क्लिन चिट पाएपछि पुनः गृह मन्त्रालयको कमान्ड सम्हाल्न आइपुगेका हुन् । मन्त्रालय फर्किएकै दिन उनले चालेको यो अप्रत्याशित र आक्रामक कदमलाई राजनीतिक वृत्तमा निकै चासो र महत्त्वका साथ हेरिएको छ ।