राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ असोज १५ काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तिनवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक २०८३, नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक २०८३ र भुक्तानी तथा फर्छ्यौट पहिलो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८३ पेस गरे ।
त्यस्तै प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य घनेन्द्र बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सांसद घनेन्द्र बस्नेत नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभा क्षेत्र नं २ बाट र २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
प्रजातन्त्र र लोकतन्त्र स्थापनामा अग्रणी भूमिका निर्वाह गरेका बस्नेतको ७४ वर्षको उमेरमा यही असोज १४ गते निधन भएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि असोज १६ गते शुक्रवार ११ बजे बस्नेछ ।