बुधबार, ३ मंसिर, २०८३

प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते भारत भ्रमणमा जाने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १ मंसिर, २०८३

प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते भारत भ्रमणमा जाने

२०८३ कार्तिक ३० काठमाडौँ ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री बालेन शाह भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आगामी मंसिर ६ गते (नोभेम्बर २२ तारिख) आइतबार भारत भ्रमणमा जाने भएका छन्।परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयको समन्वयमा भ्रमणको मिति तय भएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

प्रधानमन्त्री शाहले मंसिर ७ गते सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी लगायत उच्च अधिकारीहरूसँग औपचारिक भेटवार्ता तथा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ।मन्त्रालय स्रोतका अनुसार द्विपक्षीय वार्तामा नेपाल–भारत सीमा सुरक्षा र विवाद, कनेक्टिभिटी, ऊर्जा, व्यापार, पारवहन, हवाई रुट तथा पूर्वाधार विकास लगायतका विषयमा छलफल हुनेछ।

यसैगरी, भारतले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापना र विशेष गरी नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने तयारी गरेको बताइएको छ भने प्रधानमन्त्री शाहले युवा लक्षित कार्यक्रममा सहयोगका लागि आग्रह गर्नेछन्।भ्रमणकै अवसर पारेर भारतीय रेल्वे मन्त्रालयले स्वीकृति दिएको जनकपुरधाम–अयोध्या सीधा रेल सेवाको मंसिर ७ गते दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले निमन्त्रणा पठाए पनि आन्तरिक व्यस्तताका कारण शाहले समय मिलाउन सकेका थिएनन्। हालै भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमण गरी प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि भारत भ्रमणको मिति औपचारिक रूपमा तय भएको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ।

advertisement_1676551646.gif