शुक्रबार, २५ पुष, २०८२

राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता सकियो, ४४ जनाले गराए उम्मेदवारी दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २३ पुष, २०८२

राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता सकियो, ४४ जनाले गराए उम्मेदवारी दर्ता

२०८२ पुष २३, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशभरबाट ४४ जनाले मनोनयन दर्ता गराएका छन । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचनका लागि देशभरका सातै प्रदेशमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका हुन् ।

कोसी प्रदेशतर्फको अन्य क्लष्टरमा नेपाली काँग्रेसका सुनिल थापा भने निर्विरोध निर्वाचित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएका हेमराज घिमिरे अनुपस्थित भएपछि उनी निर्विरोध भएका हुन् । 

राष्ट्रिय सभामा नेपाली काँग्रेस, नेकपा (एमाले) र मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन बनेको छ । भागबण्डा नमिल्दा तालमेलको निर्णयबाट पछि हटेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालसँग लोसपाको एकताको समझदारी भइसकेको छ । सुरुआतमा जसपा नेपाल नै गठबन्धनमा रहने भनिए पनि मधेस प्रदेशमा जसपा नेपालले आफ्ना छुट्टै तीन उम्मेदवार उठाएको छ । महन्थ ठाकुरलाई भने सहयोग गर्ने निर्णय जसपा नेपालको छ ।

आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका रहेको छ ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

Download the PDF
advertisement_1676553851.gif