मंगलवार, ५ श्रावण, २०८३

सार्वजनिक बिदा घटाउन गृहको सहसचिवको संयोजकत्वमा कार्यदल गठन

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

सार्वजनिक बिदा घटाउन गृहको सहसचिवको संयोजकत्वमा कार्यदल गठन

२०८३ साउन ०४, काठमाडौँ । नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकनका लागि अध्ययन कार्यदल गठन गर्नेसहित विभिन्न २२ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले हाल सातामा दुई दिन सार्वजनिक बिदा थप भइसकेको अवस्थालाई ध्यानमा राख्दै अन्य बिदाहरू घटाउने वा पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित उक्त कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरू सदस्य रहनेछन् ।

सार्वजनिक बिदाको समग्र पुनरावलोकनका लागि कार्यादेश पाएको यस कार्यदललाई अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।

यसैगरी, सचिव बैठकले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट तथा स्वीकृत कार्यक्रमहरू तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न गर्नका लागि तत्कालै बजेट कार्यान्वयन तालिका बनाउने निर्णय पनि गरेको छ ।

सोही तालिकाका आधारमा आर्थिक वर्षको सुरुदेखि नै सार्वजनिक खरिद प्रक्रियालाई तीव्रताका साथ अगाडि बढाउने सहमति निर्णयमा उल्लेख छ । साथै, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि मन्त्रिपरिषद्को गत असार १८ गतेको बैठकले स्वीकृत गरेको एकीकृत राहत प्याकेजलाई शीघ्र कार्यान्वयनमा ल्याउने निर्णयसमेत बैठकले गरेको छ ।

advertisement_1676553851.gif