शनिबार, २० असार, २०८३

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त: त्रिविमा डा. भोला थापा

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त: त्रिविमा डा. भोला थापा

२०८३ असार १९, काठमाडौँ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले देशका प्रमुख सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले नियुक्तिका लागि सिफारिस गरेका नामहरूका आधारमा प्रधानमन्त्री शाहले उक्त नियुक्ति गरेका हुन् ।

उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रवार नियुक्त गरेका हुन् ।

नयाँ नियुक्ति अनुसार त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा डा. भोला थापा चयन भएका छन्। डा. थापा यसअघि काठमाडौं विश्वविद्यालय (केयू) का उपकुलपति भइसकेका अनुभवी प्राज्ञ हुन् ।

यसैगरी, पोखरा विश्वविद्यालयको उपकुलपतिमा देवेन्द्र अधिकारी, पूर्वाञ्चल विश्वविद्यालयमा सुजनबाबु मरहट्टा र सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट नियुक्त भएका छन्। मध्यपश्चिम विश्वविद्यालयको जिम्मेवारी राजन सुवालले पाउँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ऋषिराम कट्टेल र राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ उपकुलपति नियुक्त भएका छन् । लामो समयदेखि उच्च नेतृत्व रिक्त रहँदा विश्वविद्यालयहरूको प्राज्ञिक तथा प्रशासनिक कार्य प्रभावित भइरहेका बेला यी नियुक्तिहरू गरिएका हुन् ।

advertisement_1676553908.gif