बिहीबार, १७ बैशाख, २०८३

सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने कार्यको शुभारम्भ

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने कार्यको शुभारम्भ

२०८३ बैशाख १६, काठमाडौं।सरकारले कर्मचारीहरूलाई महिनाको दुई पटक (हरेक १५ दिनमा) पारिश्रमिक दिने प्रणालीको औपचारिक सुरुवात गरेको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस पाइलट परियोजनाको उद्घाटन गरेका छन्।

महालेखा नियन्त्रक कार्यालयको 'सिगास' (CGAS) प्रणालीमार्फत डिजिटल रूपमा भुक्तानी आदेश पठाएर यो प्रक्रिया सुरु गरिएको हो। हाललाई यो व्यवस्था अर्थ मन्त्रालयका कर्मचारीहरूबाट सुरु गरिएको छ, जसले वैशाख महिनाको पहिलो १५ दिनको तलब प्राप्त गरिसकेका छन्।

यो हाल संघीय निजामती कर्मचारीका लागि पाइलट परियोजनाको रूपमा छ र भविष्यमा प्रदेश तथा अन्य सरकारी सेवाका सबै कर्मचारीहरूमा लागू गरिने लक्ष्य छ।१५ दिनमै हातमा पैसा पुग्दा बजारमा माग र उपभोग बढ्ने तथा अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।

नियमित नगद प्रवाहले साना व्यवसायीहरूको व्यापारमा मद्दत पुग्ने र खर्चको वितरण समान हुनेछ।यसले डिजिटल भुक्तानी र सेवा व्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।अर्थमन्त्री वाग्लेले गत वैशाख ४ गते यो निर्णय गरेका थिए भने महालेखा नियन्त्रक कार्यालयले ११ दिनभित्रै प्राविधिक तयारी पूरा गरी यसलाई कार्यान्वयनमा ल्याएको हो।

advertisement_1676553851.gif