राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ कार्तिक २० काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तै अपारदर्शी र अनिश्चित बनेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको शैलीमाथि गम्भीर प्रश्न उठाएका हुन् ।
सम्बोधनका क्रममा संयोजक प्रचण्डले हिन्दी जासुसी फिल्ममा हुँदै नभएका र असम्भव कुराहरू देखाइने स्मरण गराउँदै सरकारका गतिविधि पनि सोही दिशामा अघि बढिरहेको बताए। उनले कुन बेला कुन पत्रकार पक्राउ पर्ने, कसमाथि आक्रमण हुने, कर्मचारीतन्त्र र नेताहरूमाथि के हुने भन्ने कुनै टुंगो नरहेको उल्लेख गर्दै मुलुकमा अन्योलग्रस्त र अशान्त वातावरण सिर्जना भएको दाबी गरे।
यसैगरी, पुराना राजनीतिक दलहरूप्रति भइरहेका नकारात्मक टिप्पणीप्रति आपत्ति जनाउँदै उनले सत्ता र नयाँ पुस्ताले इतिहासको योगदानलाई बिर्सन खोजेको आरोप लगाए।
गणतन्त्र स्थापना, भौतिक पूर्वाधार निर्माण र ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउनेहरूलाई अपराधीका रूपमा चित्रण गर्न खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।