मंगलवार, ५ जेष्ठ, २०८३

विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

२०८३ जेष्ठ ०४, काठमाडौं।नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको संगठनमा भित्र्याउने औपचारिक निर्णय गरेको छ। भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको सचिवालय बैठकले भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको हो।

बैठकको निर्णयबारे जानकारी दिँदै पार्टी उपमहासचिव लेखराज भट्टले पूर्वराष्ट्रपति भण्डारीलाई पुनः पार्टी सदस्यको जिम्मेवारी दिने निर्णय भएको पुष्टि गरे।यसअघि एमालेभित्र भण्डारीको पार्टी सदस्यता र उनको सक्रिय राजनीतिमा फिर्ता हुने सम्भावनालाई लिएर आन्तरिक विवाद उत्पन्न भएको थियो। एउटा पक्षले पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा फिर्ता हुनु नैतिक रूपमा सही नहुने तर्क गरिरहेका बेला संस्थापन पक्ष भने उनलाई उपयुक्त जिम्मेवारीसहित पार्टीमा स्वागत गर्ने तयारीमा थियो।

हालैका राजनीतिक घटनाक्रम, युवा केन्द्रित 'जेनजी' (Gen-Z) आन्दोलनको प्रभाव र पछिल्लो आम निर्वाचनपछि बदलिएको राजनीतिक समीकरणका कारण एमाले नेतृत्व यो निर्णयमा पुगेको स्रोतले जनाएको छ। नयाँ राजनीतिक शक्तिहरूको उदय र परम्परागत दलहरूमाथि लागेको दबाबका बीच एमालेले आफ्नो संगठनलाई थप सुदृढ बनाउन भण्डारीको आवश्यकता महसुस गरेको विश्लेषण गरिएको छ।

बदलिएको राजनीतिक परिस्थिति र संगठनको आवश्यकतालाई ध्यानमा राख्दै सचिवालयले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिने सर्वसम्मत निर्णय गरेको बताइएको छ ।मुलुकको दुई कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारी राष्ट्रपति पदबाट बाहिरिएपछि पनि राजनीतिक रूपमा सक्रिय देखिँदै आएकी थिइन्। एमालेका शीर्ष नेताहरूसँगको बाक्लो भेटघाट र पार्टीका आन्तरिक मामिलामा उनको चासोले उनी सक्रिय राजनीतिमा फर्किन लागेको अनुमान पहिलेदेखि नै गरिँदै आएको थियो।

एमालेको यो निर्णयसँगै भण्डारीका लागि पार्टीको कार्यकारी भूमिका वा आगामी महाधिवेशनमा शीर्ष नेतृत्वको दाबेदार बन्ने बाटो खुला भएको छ। यद्यपि, उनलाई पार्टीमा के-कस्तो जिम्मेवारी दिइनेछ भन्नेबारे एमालेले स्पष्ट खुलाएको छैन।

advertisement_1676551537.gif