राष्ट्रिय सन्देश संबाददाता, १७ घण्टा पहिले
२०८३ असार ११, काठमाडौं । सनातन धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व निर्जला एकादशी आज देशभरी श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदैछ । वैदिक पञ्चाङ्ग अनुसार ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथिलाई निर्जला एकादशी भनिन्छ ।
हिन्दू धर्मशास्त्रहरूमा वर्षभरि पर्ने २४ वटा एकादशीहरूमध्ये यस एकादशीलाई सबैभन्दा बढी पुण्यदायी, फलदायी र महत्वपूर्ण व्रतका रूपमा व्याख्या गरिएको छ । आजको विशेष दिनमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूले गङ्गा, बागमती, विष्णुमतीसहित देशका विभिन्न पवित्र नदी, ताल र कुण्डहरूमा स्नान गरी भगवान् श्रीहरि विष्णुको विशेष पूजा-आराधना गरिरहेका छन् ।
धार्मिक विधान अनुसार आजको व्रतमा अन्न मात्र नभई पानीसमेत ग्रहण नगरी (निर्जल) पूर्ण उपवास बस्ने परम्परा छ । भगवान् विष्णुप्रति समर्पित यो पावन व्रत केवल धार्मिक आस्था र पौराणिक मान्यतामा मात्र सीमित नभई मानव जीवनमा आत्मसंयम, मानसिक अनुशासन, स्वास्थ्य रक्षा र आध्यात्मिक जीवनशैलीसँग समेत गहिरो रूपमा जोडिएको मानिन्छ ।
आजको दिन निराहार व्रत बसी जल वा सर्वतले भरिएको घडा (तामा वा माटोको भाँडो) गरिब तथा ब्राह्मणलाई दान गर्नाले दान गर्ने व्यक्ति र उसको परिवारमा भगवान् विष्णुको असीम कृपा रहने कुरा विभिन्न धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ ।
यस एकादशीको अर्को ठूलो सांस्कृतिक महत्त्व भनेको घर-घरमा तुलसीको बिउ वा दल राख्नु हो । आजको दिन पवित्र स्थानमा विधिपूर्वक पूजाआजा गरी राखिएको तुलसीको दललाई आगामी आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन मठ बनाएर रोप्ने गरिन्छ ।
यसरी रोपिएको तुलसीको बिरुवालाई चार महिनासम्म विशेष केयर र पूजाआजा गरी कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी (ठूलो एकादशी) का दिन भगवान् विष्णुको प्रतीक दामोदरसँग विवाह गरिदिने धार्मिक एवं सांस्कृतिक प्रचलन रहिआएको छ । आज काठमाडौँको बूढानीलकण्ठ, चाङ्गुनारायण लगायत मुलुकभरका प्रमुख विष्णु मन्दिरहरूमा दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।