राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८३ जेष्ठ ३१, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र स्वयम्भू महाचैत्यको गुम्बजमा वर्षौंदेखि जम्दै आएको चुनाको बाक्लो तह हटाउने कार्य सुरु गरिएको छ । महाचैत्यको पुरातात्त्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्व संरक्षण गर्ने उद्देश्यले सफाइ तथा जीर्णोद्धार अभियान सञ्चालन गरिएको हो ।
परम्पराअनुसार बुद्ध पूर्णिमालगायत विभिन्न धार्मिक अवसरमा श्रद्धालुहरूले महाचैत्यमा सेतो चुना पोत्ने चलन रहँदै आएको छ । वर्षेनी यसरी चुना थपिँदै जाँदा गुम्बजमा बाक्लो तह जम्ने भएकाले निश्चित अवधिपछि पुरानो तह हटाउने गरिन्छ ।

हाल गुम्बजमा जमेको चुनाको तह १३ देखि १५ इन्चसम्म पुगेको पाइएको छ । अत्यधिक मात्रामा चुना जम्दा संरचनामा अतिरिक्त भार पर्नुका साथै महाचैत्यको मौलिक आकार, गोलाइ र पुरातात्त्विक स्वरूपसमेत ओझेलमा पर्ने जोखिम रहने बताइएको छ ।
यसअघि करिब १२–१३ वर्षअघि गरिएको सफाइका क्रममा गुम्बजमा जमेको चुनाको तह २२ देखि ३० इन्चसम्म पुगेको पाइएको थियो । त्यसयता पनि नियमित रूपमा चुना पोतिँदै आएकाले पुनः बाक्लो तह बनेको हो ।
पुरातत्त्व विभागको अनुमति तथा प्राविधिक निगरानीमा स्वयम्भू व्यवस्थापन समितिका कर्मचारी र दक्ष कालिगढहरूले अत्यन्त सावधानीपूर्वक पुरानो चुना हटाउने काम गरिरहेका छन् । सफाइका क्रममा मूल संरचनामा कुनै क्षति नपुग्ने गरी विशेष सतर्कता अपनाइएको जनाइएको छ ।

करिब एक महिनाभित्र सफाइ कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ । सफाइपछि महाचैत्य आफ्नो मौलिक पुरातात्त्विक स्वरूप र प्राचीन सौन्दर्यसहित पुनः देखिने विश्वास गरिएको छ ।
काठमाडौं उपत्यकाको इतिहास, संस्कृति र सभ्यतासँग गहिरो सम्बन्ध रहेको स्वयम्भू महाचैत्यको संरक्षण अभियानलाई स्थानीय समुदाय, बौद्ध भिक्षु, सम्पदाविद् तथा सम्पदाप्रेमीहरूले चासोका साथ हेरिरहेका छन् । संरक्षणविद्हरूले यस अभियानलाई विश्व सम्पदा क्षेत्रको मौलिकता जोगाउने महत्वपूर्ण प्रयासका रूपमा लिएका छन् ।


