राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २९ आश्विन, २०८२
२०८२ असोज २९, काठमाडौं । नेपाल र ओमान आइसिसी टी–२० विश्वकपमा छनोट भएका छन् । बुधबार ओमानमा भएको छनोटको सुपर सिक्समा युएईले सामोआलाई हराएसँगै अंकको आधारमा नेपाल र ओमान विश्वकप छनोट भएका हुन्।
योसँगै विश्वकपमा स्थान बनाउने २० मध्ये १९ टोलीको टुंगो लागेको छ। विश्वकप सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुँदैछ।
नेपाल तेस्रो तथा ओमान चौथोपटक विश्वकपमा छनोट भएका हुन्। नेपाल लगातार दोस्रोपटक विश्वकप खेल्दैछ। नेपालले यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलेका थियो। ओमानले सन् २०१६, २०२१ र २०२४ मा विश्वकप खेलेको थियो।
एसिया तथा एसिया प्यासिफिक छनोटमा नेपाल र ओमानले समान ३ खेलबाट ६ अंक बटुलेका छन्। दुई टोलीबीच अहिले पौने ९ बजे प्रतिस्पर्धा हुँदैछ। नेपालले अन्तिम खेलमा सामोआसँग खेल्ने तालिका छ।
छनोटमा युएईले चार खेलबाट ४ अंक जोडेको छ । चार खेल खेलेको कतार र तीन खेल खेलेको जापानले समान दुई अंक जोडेका छन् । सामोआ तीन खेल खेल्दा अंकविहिन छ । अब, सुपर सिक्सबाट युएईसँगै जापान र कतारमध्ये एक टोली विश्वकपमा छनोट हुनेछन् ।