राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १ कार्तिक, २०८२
२०८२ असोज ३१, काठमाडौँ । नेपालले आईसीसी टी–२० विश्वकप छनोटको उपाधि जितेको छ । शुक्रबार ओमान भएको सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई एक सय २४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपाल अपराजित रहँदै उपाधि जितेको हो । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । सामोआका सिन सोलियाले ४० तथा बेन माइलाटाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। नेपालका ललित राजवंशीले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो। सामोआसँगको खेलमा नेपालका दुई खेलाडी आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । आसिफ शेखले ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए ।
कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।