राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २२ माघ, २०८२
२०८२ माघ २१, काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । क्रिकेट संघ नेपाल (क्यान) सँगको सहकार्यमा एक्सट्रिम इनर्जी ड्रिङ्कले आयोजना गरेको विशेष कार्यक्रममा बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको जर्सी अनावरण गरिएको हो ।
साथै उक्त कार्यक्रममा क्यान र एक्सट्रिम इनर्जी ड्रिङ्कबीचको साझेदारीसमेत औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
यो जर्सी नेपालले एसियन क्रिकेट काउन्सिल (एसिसी) ले थाइल्यान्डको बैंककमा आयोजना हुने राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा पहिलोचोटी प्रयोग गर्नेछ ।
उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जर्सी प्रायोजनले खेलाडीहरूलाई प्रोत्साहन, आत्मविश्वास र व्यावसायिक वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।