राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १७ जेष्ठ, २०८३
२०८३ जेष्ठ १७, काठमाडौं । नेपालको उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वदेखि पश्चिमसम्म सक्रिय रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रमा मौसममा व्यापक परिवर्तन आउने प्रक्षेपण गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले देशका धेरैजसो भूभागमा बदली, वर्षा तथा तीव्र गतिको हुरी चल्ने सम्भावना देखिएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया मौसम बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था छ । यसै प्रणालीका कारण अहिले लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा र गण्डकी तथा कर्णाली प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भेगमा साधारणतया मौसम धुम्म रहनेछ भने तराईका बाँकी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ ।
यस क्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, मधेस प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि चट्याङसहित पानी पर्न सक्ने अनुमान गरिएको छ ।
आज रातिको मौसम भने कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली नै रहनेछ । पहाडी क्षेत्र र लुम्बिनीको तराई भागमा आंशिक बदली रहे पनि बाँकी तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
रातिको समयमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष गरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तीव्र गतिको हुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ । मौसममा आउने यस्ता उतारचढावबाट बच्न र सुरक्षित रहनका लागि विभागले जारी गर्ने पछिल्ला मौसमी सूचना र अपडेटहरू नियमित रूपमा हेर्न समेत आग्रह गरिएको छ ।